साफ च्याम्पियनसिप : फाइनल शनिबार, इतिहास रच्ने रणनीतिमा नेपाल

काठमाडौं, २८ असोज । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ काे उपाधिका लागि आगामी शनिबार हुने फाइनलमा नेपालले चिरपरिचित भारतको सामना गर्दै छ । भारतलाई हराएर इतिहास रच्ने रणनीतिमा नेपाल छ ।

हिजो (बुधबार) माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेको हो। नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल गरेको थियो। नेपालका लागि अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन्।

बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध खेलको नवौं मिनेटमा गोल गरेका थिए। बराबरीसँगै नेपालले चार खेलबाट ७ अंक जोडेको छ। उता, भारतले आयोजक माल्दिभ्सलाई ३–१ को नतिजा निकाल्दै उपाधिका लागि नेपालसँग भिडन्त पक्का गर्यो। जारी प्रतियोगितामा भारत अपराजित टिम हो ।

भारतले ४ खेलमा २ जित र २ बराबरसहित ८ अंक जोड्दा नेपाल ४ खेलमा २ जित, १ हार र १ बराबरसँगै ७ अंक जोड्दै दोस्रो स्थानमा रहयो । माल्दिभ्स ६ अंकसाथ तेस्रो र बंगलादेश ५ अंक जोड्दै चौथो भयो । यसअघि १ अंक जोडेको श्रीलंका समूह चरणबाट बाहिरिएको थियो ।

फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति पौने ९ बजे हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here