एमसीसी मुद्दा : हालकाे गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्न सक्ने

काठमाडौं, २४ भाद्र । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को मुद्दाले राजनीति गर्माएको छ । एमसीसीकी उपाध्यक्ष फतिमासुमारलगायतको टोली नेपाल आउनु अघि नै यसको पक्ष या विपक्षमा अभिव्यक्तिहरु आइरहेका थिए ।


एमसीसीबारे अमेरिकी सरकारले नेपाल सरकारले उठाएका कतिपय विषयबारे जवाफ पठाइसकेको छ । एमसीसी संशोधन नहुने आशयसहितको जवाफपछि माओवादीले पारितको विपक्षमा धारणा बाहिर ल्याएको छ । यसअघि नै अध्यक्ष प्रचण्डले एमसीसी पारित नहुनेमा ढुक्क हुन भनेका थिए ।

एमसीसीको मुद्दाले राजनीतिक ध्रुवीकरण हुन थालेको छ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एमसीसी पारित गर्न हतारिएका छन् । उनले एमसीसी पारित गर्नुलाई प्रतिष्ठाको विषय बनाएका छन् । उनी प्रधानमन्त्री हुँदा एमसीसी सम्झौता भएको थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे नहतारिने बताइसकेका छन् । उनी विगतमा एमसीसीको पक्षमा थिए । तर, बोलीमा केही बदलाव आइसकेको छ । तर, ओलीले यसलाई राजनीतिक अस्त्र बनाएका छन् ।

एमसीसीबारे सत्ता गठबन्धनभित्र फरक धारणा बाहिर आएकाले कम्पन आएको छ । गठबन्धन नै भत्कनसक्ने देखिएको छ । गठबन्धन भत्किएमा नेपाली काँग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन बन्ने सम्भावना पनि छ । देउवा र ओलीबीच पछिल्लो समय संवाद चल्न थालेको छ । यो नयाँ गठबन्धनको संकेत पनि हो ।

काँग्रेस, एमाले र एमसीसी पक्षधर मधेशवादी दल मिलेमा पारित हुने सम्भावना छ । एमसीसीको मुद्दाले मुलुकलाई त्यही दिशातर्फ लाने अवस्था बन्दैछ । प्रचण्डले यही संकेत पाएर सत्ता गठबन्धन भत्काउन खोजेको विषय उठाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here