डङ्डङी बज्ने खरा खहरे आतिन्छन् आफ्नै बिरुपले

कविता

राजेश अधिकारी

पटपटी फुटेका गर्हा गर्हा
चिच्याउँछन् असीम तृष्णाले
बङबङी सुकेका तरु तरु
छट्पटाउँछन् अखप उष्णले

सटसटी झरेका पर्णी पर्ण
लजाउँछन् नग्न स्वरुपले
डङ्डङी बज्ने खरा खहरे
आतिन्छन् आफ्नै बिरुपले

भतभती पोल्ने शुष्क पवन
चुम्छ धर्ती गगन
छमछमी नाच्ने आद्र जलद
छुप्छ पर्खी लगन

बरबरी रुने अमित वर्षा
छोप्छ सजल नयन
भुरभुरी उड्ने प्रफुल्ल पंछी
कुर्छन् सौम्य सदन

खडेरी उदायो हरित अस्तायो
सकल धर्ती तताई
चैन हरायो खुशी बिलायो

सितल उर्वरता धपाई
चक्र घुम्यो बर्षा जागिन्
अखिल धरणी ब्यँझाई
पालुवा पलायो मुस्कान मौलायो

शोषक खडेरी भगाई
खडेरीले घुर्यो कुन्नी के फुर्यो
बोल्यो मधुर बाणीले
मेरो स्पर्शले गर्यौ तिमिले

अनुभव कटु उlद्वग्न
भुङ्रो नछोई कसरी गम्छौ?
तातोचिसो प्रकृति भिन्न
रात्री नभै दिवा एक्लो

बिपना बिना सपना
रोदन नभै मुस्कान पराई
क्रूरता बिना करुणा
नर्क नभै स्वर्ग अनर्थ

अशान्ती बिना शान्ती
अनैश्वर्य बिना ऐश्वर्य गौण
विषाद अबोधको कान्ति
अड्चन बिनाको जीवन जिए

मर्दछ उर्जा जाँगरको
अल्छी,बिलासी बन्दछ चोला
अवोनती हुन्छ नागरको
कटुसत्यको ठर्रो ठक्कर नखाई

मनुज्ञानको ढोका खुल्छ कहाँ?
बिधीको चक्रमा फन्को नलाई
प्रकृति सन्तुलित हुन्नन् यहाँ
बर्षा पिउन आकुल ब्याकुल

जर्जर त्रृषित भुमी
असिन पसिन भै छटपट गर्छिन्
मेरो अट्टहास सुनी
वन बिनासी शहर बसायौ

नदीपथ च्यापी महल
सिर शैल चिथोरी सडक बनायौ
वसुधामा छायो कहल
कार्वन फिँजायौ हरित हरायौ
मोहक सम्पदा भुटी

थल निचोर्यौ जल सुकायौ
धरित्रीको कौमार्य लुटी
कलयन्त्रको प्रकृतीपीडक धुम्र
नाच्दछ नीर नभ नभमा

बर्षा भाग्छिन् दूर दुनियाँमा
पठाई मलाई सुन्दर भूतलमा
घुम्छु नाच्छु प्रफुल्ल मनले
मस्ती गर्दै सौम्य भूतलमा

खलबल पार्छु जलथल सारा
शासन गर्छु प्रभावी बलमा
बर्षा बोलाऊ मलाई भगाऊ
चाहन्छु म सदा तिम्रो भलो
मनोहर धरणीमा रम्ने भए
आफैं बनाऊ तिम्रो जन्मथलो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here