बुद्धशान्तिको ‘एक्टा डिना’ पूर्वेली साप्ताहिक

विष्णु लामिछाने
मानिसले शब्द उच्चारण शुरु गरेसँगै सूचनाको सञ्चार भएको अनुमान लगाउन सकिन्छ । साक्षरता र त्यसका पुरकहरु भाषा, साहित्य, समाचार जस्ता विषयहरु स्वभावतः पछि विकास भएका हुन्।

सञ्चार माध्यमको रूपमा मानव सभ्यताको सारथी र साक्षी बनेको पत्रीकाको विकास इसापुर्व ५०९ मा इटालिको रोममा भएको देखिन्छ।

शासकहरुले हरेक दिन एक्टा डिना मार्फत राज्यमा भइरहेका गतिविधिहरुबारे जनतालाई जानकारी दिने गर्थे। धातु र ढुङ्गाहरुमा लेखिएका रोमका तत्कालीन संचारका माध्यम नै आजका आमसंचार माध्यमका जग हुन्।

१२ औं शताब्दीबाट हस्तलिखित पुस्तक हुँदै १४ औं शताब्दीमा गुटनबर्गको प्रेसले विश्वमा प्रकाशनको क्षेत्रमा आमूल परिवर्तन ल्याएको थियो। १६ औं शताब्दी यता खबर पत्रिका मानव जीवनको अभिन्न पाटो बनेको देखिन्छ । दैनिक जीवनमा अखबारको प्रयोग देख्दा छापाखानाको विकासपुर्व पत्रिका प्रकाशनको त्यो युग वास्तवमै कहालिलाग्दो थियो।

१८ औं शताब्दीमा अमेरिकामा सस्तो र शुलभ मुल्यमा प्रेसको अवधारणा आयो, जसलाई पेन्नी प्रेस भनियो। पेन्नी प्रेसले तत्कालीन चल्ती बजार मूल्य भन्दा धेरै कम मूल्यमा पत्रिकाको वितरण गरेसँगै अखबारको प्रयोग बढेको देखिन्छ।
तर १९ औं शताब्दीको शुरूवातसँगै प्रथम र द्वितीय युद्धका कारण अखबारको बजारमा केही ह्रास आयो । १९२० ताका रेडियोको विकास हुँदा पत्रिकाको अन्त्य भएको हल्ला चल्यो । सुन्न मिल्ने सञ्चारले पढ्न मिल्ने अखबारलाई विस्थापित गर्छ भनी सबैले अनुमान लगाए । यद्दपि द्वितीय विश्व युद्ध र त्यसपछिको औद्योगिक क्रान्तिमा समेत पत्र–पत्रिकाले आफ्नो साख भने गुमाउन परेन।

सन् १९९० को दशक पछि ईन्टरनेटको विकास भएसँगै पत्रिकाको भबिष्य बारे फेरि अरु अनुमानहरु शुरु भए । सुन्न पढ्न लेख्न र हेर्न मिल्ने सञ्चारको विकास भएपछि पत्रिका र तिनका प्रकाशन घरहरु कसरी टिक्लान भन्ने सबैको प्रश्न थियो ।

ती सबै अप्ठ्याराहरुलाई चिर्दै पत्रीका निरन्तर अघि बढिरह्यो। मोबाइलको बिकासले ल्याएको “फास्ट कन्जुमको“ को कल्चरले पनि भत्काउन नसकेको पत्रीकाको इतिहासलाई कोरोनाले भने नराम्ररी संक्रमण बढाएको छ। विकसित धेरै मुलुकका सञ्चारगृहहरु अवस्था सामान्य नहुन्जेल प्रकाशन नगर्नेमा छन् भने नेपालकै हकमा पनि मुलधारका भनिएका धेरै संचारगृहका प्रकाशनहरु ठप्प भए, भने मोफसलकाहरु त्यसबाट अछुतो रहने कुरै भएन।
विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ ले कुनैपनि क्षेत्रलाई चोखो रहन दिएन, त्यसमा पनि पत्र–पत्रिका अझ बढी मारमा परेको देखिन्छ ।

समाचार संकलन देखि वितरण हुँदै पाठक सम्म पु¥याउने त्यो नेक्ससलाई कोरोनाले धुजा–धुजा बनाएको छ । यद्यपि सञ्चारको यो साधन फेरि पनि जीवन्त रहन कोशिश गरिरहेकै छ । प्रविधिको विकासमा पत्र–पत्रिकाले आफूलाई पनि परिवर्तन गराएका छन् । छिटो र छरितो सूचना भनिरहँदा पत्रिकाहरु विश्वसनीय र पूर्ण समाचारको वकालत गरिरहेका छन् र आज पनि उत्तिकै जुरमुराहट साथ लाखौं पत्रिकाहरु प्रकाशन भइरहेकै छन् । त्यसैको झिल्को स्वरुप ‘पूर्वेली साप्ताहिक’ कोरोना कहरको मझधारमा आफू नढलेको धरहरा बन्दैछ ।

बुद्धशान्तिको पहिलो संचारगृहको रुपमा स्थापित बुद्धशान्ति मिडिया हाउसले प्रकाशन गर्दै आएको पूर्वेली साप्ताहिक यस क्षेत्रको `एक्टा डिना´साबित भएको छ।

सामाजिक बेथितिका बारे निरन्तर खबरदारी, विकास र नागरिक पत्रकारिताको वकालत गर्दै अघि बढिरहन सके कुनै पनि अप्ठ्यारा पार गर्न गाह्रो हुने छैन, त्यो विश्व इतिहासले पनि देखाएकै छ ।

असहजता भित्र पनि सहजता खोजेर छापा माध्यम अघि बढेका छन् त्यसमा पूर्वेली पनि एक हो । नेपाली पत्रकारिता त्यसमा पनि मोफसलको पत्रकारिता सहज छैन तर पनि अनवरत रुपमा पूर्वेली अघि बढिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here