हेर्दा हेर्दै कस्तो भयो तिम्रो र मेरो जिन्दगी !

कस्तो बनौँला, के के गरौँला, कति सुख र खुशीका साथ जिऔँला, घुमौला, रमाईलो गरौँला भन्दथ्यौँ हामी । पिरतीका सुन्दरमाला उनेर जीवनमा सजाऔँला भन्दथ्यौँ हामी । ढकमक्क बगैँचामा मनमौजी घुमेर नीलो आकाशजस्तै निश्छल मन लिएर एकअर्का बात मारौँला भन्थ्यौँ हामी ।

झरनाका कञ्चन पानी पिउँदै, सुइसेला मार्दै प्रकृतिको मजा लिँदै बिना अबरोध डुलौँला भन्थ्यौँ हामी । जुनेली रातभरी एकअर्का हात समाएर खोलाको बगरै बगर भएर टाढा टाढा पुगौँला भन्दथ्यौँ हामी । बालुवाकै सही, तिम्रो र मेरो सपनाको महल बनाउँला भन्थ्यौँ हामी ।

पहाडका टाकुराहरुमा पुगेर टाढा टाढाका गाउँ बस्तिहरुको सुन्दर दृष्य हेरौँला भन्थ्यौँ हामी । वनपाखामा रातै भएका लाली गुँरासको सुन्दरताको बयान गर्दै एकअर्काको हात समाएर चिसो हावाको वेगसँगै नागीमा कुदौँला भन्थ्यौँ हामी । देउराली र भञ्ज्याङ्गको चौतारामा बसेर दिन बितेको पत्तै नपाउने गरी पिरतीका कुरा गरि बसौँला भन्थ्यौँ हामी । तिम्रो र मेरो एउटा सानो संसार सजाऔँला र जीवनको पल्लो छेउसम्म नै सँगै जिऔँला र सँगै मरौँला भन्थ्यौँ हामी । तर हेर्दा हेर्र्दै कस्तो भयो तिम्रो र मेरो जिन्दगी । च्यातिएको चिठीजस्तै भयो तिम्रो र मेरो जिन्दगी । हो च्यातिएको चिठी जस्तै भयो तिम्रो र मेरो जिन्दगी । अब कुनै अर्थ छैन तिम्रो र मेरो सम्बन्धको । कुनै मिलनको सम्भावना छैन तिम्रो र मेरो माया पिरिमको । टुक्रिएको शिशा जोडिएको बित्थैको कल्पना गर्नु सिवाय ।

भुवन तामाङ

यति भै कन पनि तिम्रो लागि मेरो छातिमा अझै केही माया बचेको छ । तर अर्थहीन माया । यो माया किन बचेको हो ? म यसै भन्न सक्दिन । सायद, तिमी र मैले जस्तै नियतिको खेल भोगेका थुपै्र थुप्रैहरुका मनहरुमा पनि आफ्ना आफना माया थिग्रिएर बसेका होलान् । जुन अब केही कामका हुने छैनन् ।

केवल खिया लागेर दिनानुदिन खिइदैछन् । तिम्रो लागि मेरो मनमा केही माया बचे जस्तै मेरो लागि पनि त्यो छातीमा अभैm केही माया बचेकै होलान् । तर त्यो तिमीलाई मात्र महसुस हुने कुरा हो । त्यो अब न तिमीले मलाई दिन सक्छ्यौ न त काँडाको खिल झिके जस्तै झिनो आइया आवाजसँगै चिम्टीले चेपेर थुतेर फाल्न सक्छौ । अनि चौताराको वरीपरी अभैm हाम्रो छायाँ होला । ती चौताराहरु वरीपरी हामी पिरतीका कुरा गर्दै एकै गुजुल्टो परेर धेरै धेरै बेरसम्म घुम्थ्यौँ । त्यहाँ हाम्रो छाँया अझै देखिन्छन् होला । जहाँ हामीले रात रात भरी, भुतले नबुझिने भाषामा के के गुनगुनाए जस्तै धेरै थोक गुनगुनाएर जुनको शीतल प्रकाशमा चौतारा वरीपरी लुकामारी खेलेथ्यौँ ।
त्यहाँ हाम्रा छाँया अझै होलान । अरु मायालु जोडीहरुलाई चौताराले हाम्रो मायाको भित्री कथा सुनाउँदै होला । र, ती अमुक प्रेमिल जोडीहरु व्यथित बन्दै होलान् । सपना टुट्छ भनेर जान्दा तिनीहरु पनि मर्माहत हुँदा होलान् । दिन भरी घोप्टिएर रुँदा हुन् ।

के गर्नु ? लाखौँ चोटी बिर्सन खोजेर पनि बिर्सन नसकेपछि, राखेको छु चोखो गरी कसम तिम्रो पनि । माया पिरतीमा कसम भन्दा अर्को ठूलो कुरा के नै हुँदो रहेछ र तरपनि कसम मानि रहन कहाँ सकिँदो रहेछ र । कसम झुठो नभएपनि मान्छे झुठो र फरेबले घेरिएको हुँदो रहेछ । त्यसैले हाम्रा कसम कसम नै रहिगए । अनि हेर्दा हेर्र्दै कस्तो भयो तिम्रो र मेरो जिन्दगी । च्यातिएको चिठीजस्तै भयो तिम्रो र मेरो जिन्दगी । फगत एउटा कागजको टुक्रा र त्यसमा लेखिएका किरिङ्गमिरिङ्ग अक्षरहरु जस्तै भए तिम्रो र मेरो जिन्दगी । सत्य पनि असत्य बनिदियो । असत्य पनि सत्य बनिदियो । भन्न त भन्छन् मान्छेहरु सत्यकै जीत हुन्छ । तर तिम्रो र मेरो पिरतीको सम्बन्धमा सत्यले तीन बल्ड्याङ्ग खायो । सत्यकै जीत भएको देखाउन धेरै असत्यको सहारा लिनु पर्दो रहेछ । तैपनि दोबाटो झैँ दुई दिशामा छुटेर पनि जिन्दगी, राखेको छु चोखो गरी कसम तिम्रो ।

मान्छेहरुले देखिएका कुरा मेटन् सक्दा रहेछन् तर मनमा नदेखिने गरी बसेको कुरा मेट्न नसकिँदो रहेछ । त्यो घरिघरि बल्झि रहँदो रहेछ । किन यस्तो हुन्छ ? के छ मेरो मनमा भनेर हेर्दा तिम्रो लागि अझै पनि चोखो कमस बाँकी रहेको पाउँछु । सायद तिमीलाई पनि त्यस्तै हुँदो होला । समय बित्दै गएपछि बितेको समयलाई मानिसले त्यसलाई मीठो पलको रुपमा सम्झना गर्दो रहेछ । हो त्यस्तै गरी तिम्रो र मेरो पिरतीका पलहरु पनि त्यस्तै गरि मीठो थियो । हो, एउटा मिठो घडी थियो हुरी जस्तै उडी गयो । जति नै मीठो भएर के गर्नु ? त्यो थाहै नपाई हुरी जस्तै कता कता उडि गयो । धेरै धेरैको सपना जस्तै हाम्रो पनि मीठो पल र सपना उडि गयो । आकाशमा माथि माथि पुगेर बादलसँग मिसियो या अँध्यारोमा खसेर हरायो । या धुलो बनेर उडि गयो या त जलेर खरानी बन्यो । भन्थ्यौँ हामी, तिम्रो र मेरो माया जस्तो अजम्बरी माया कस्को पो होला र ? अनि भन्थ्यो हामी, हाम्रो पिरती जुनी जुनीसम्म अजम्बरी हुनेछ । तर, अजम्बरी मनको माला बेघडीमा नै चुँडी गयो । हो तिम्रो र मेरो माया केही वर्षपनि बाँचेन ।

त्यो घायल भयो र मृत्यु शैयामा लम्पसार भयो र चितामा दनदनी बल्यो । केवल स्मृति बनेर आइरह्यो । माया पिरती अजम्बरी हुन्छन् भन्नेहरु ती झुठा रहेछन् । सबै सबै नै च्यातिँदो रहेछ । सबै कुरा चुँडिदो रहेछ । टुक्रिँदो रहेछ । चाहे त्यसमा कसैको दोष नै नहोस् तै पनि त्यो टुड्दो रहेछ थाहा नपाई । हो त्यस्तै भयो तिम्रो रे मेरो पिरती सम्बन्धमा पनि। न गल्ती थियो मेरो पनि न दोष थियो तिम्रो ।

तिम्राे र मेरो कसैको दोषै छैन र पनि हामी नदीका दुई किनार भइ गयौँ । एक हुनै सकेन यो दुईको प्यारो जिन्दगी । सँगै बाँच्ने, सँगै मर्ने धोको र बाचा अधुरै भयो अनि हेर्दा हेर्र्दै कस्तो भयो तिम्रो र मेरो जिन्दगी । च्यातिएको चिठीजस्तै भयो तिम्रो र मेरा जिन्दगी । कहिले काहिँ त यस्तो लाग्छ कि आच्या पिरती भनेको यस्तै हो त ? तीन छक्कै पो परेँ म त । तिमी र म दिनभरी न्यानो घाम ताप्दै आकाश हेरेको त्यै चप्लेटी ढुङ्गामा उत्तानो पल्टेर सोच्दछु, अप्पुई, हेर्दा हेर्र्दै कस्तो भयो तिम्रो र मेरो जिन्दगी । च्यातिएको चिठीजस्तै भयो तिम्रो र मेरो जिन्दगी ।

अनि उड्यो परपरसम्म, माथि माथि सम्म हामीले लेखेर च्यातेका असंख्य चिठीका टुक्राहरु हावामा र खसे कता कता वन जङ्गलमा, रुखका पातहरु झैँ पिर्लिक्क पिर्लिक्क गर्दै तिमी र मलाई अधमरो छाडेर अनि बिस्तारै बिस्तारै बिलाए सदाका लागि ।

तिमीले कतैबाट खोजेर ल्याएर रोपेको त्यो सानो पिपल र मैले पनि कतैबाट खोजेर ल्याएर रोपेको त्यो सानो बर चौताराको दायाँ बायाँ अब त ठूला भैसके छन् । बरु तिनीहरु सँगसँगै छन् तर हामी चाहिँ छुट्टिएछौँ बिना कारण नै कहिल्यै नभेटिने गरि । हामी मरेपनि हामीले रोपेका बर पिपलहरु बाँचिरहुन् युगयुगसम्म हाम्रो पिरतीको साक्षी बनेर ।

(चर्चित गायक कुमार सुब्बाको स्वरको हेर्दा हेर्दै कस्तो भयो तिम्रो र मेरो जिन्दगी बोलको गीतको भावानुसार)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here