अधिर मन

मेरा अन्तर्निहित बन्दी मनहरु
छातीको कैदखाना नाघ्दै
कसैको आँखामा घुसपैठ गर्न खोज्छन्

    (कविता) राजेश अधिकारी                                                                                                                

मेरा अनियन्त्रित अनुरागका ज्वारभाटाहरु
दिलको लाभा बिस्फोट गर्दै
कसैको बेवास्तालाई बडार्न खोज्छन्

मेरा बिवस बँधुवा ब्यथाहरु
खहरेको उर्लदो बाढी बन्दै
कसैको मुटुलाई बगाउन खोज्छन्

मेरा बिक्षिप्त धड्कनका घाउहरु
वशको पर्खाल तोड्दै
कसैको प्रणयी मलमपट्टी खोज्छन्

मेरा जठराग्निले जलेका अन्तरभावनाहरु
मुटुको ज्वालाहरु निभाउन
कसैको ह्रदयवृष्टि सितलता खोज्छन्

कसैका मनका कठोर पहाडहरुलाई
मेरा ब्यग्रताका भुकम्पहरुले
टसमस गर्न सकेनन्

कसैका सदाप्रसन्न बेखबर आँखाहरुलाई
मेरा भग्नह्रदय नयनपानहरूले
ध्यानकेन्द्रित गर्न सकेनन्

कसैका तीक्ष्ण संवेदनशील कर्णपटहरुलाई
मेरा अन्तरात्माका ध्वनीहरुले
प्रतिध्वनी गर्न सकेनन्

कसैका महक संवेदनशील नासिकाहरुलाई
मेरा सुगन्धवर्षक प्रेमापीलहरुले
बास छर्न सकेनन्

कसैका छरपस्ट बादलरुपी केशहरुलाई
मेरा आशक्त हातहरुले
सम्हालेर मिलाइदिन सकेनन्

दिलका तृषित तृष्णा र ब्यथित ब्यथाहरु
उत्ताउला उन्माद र सौम्य सुस्केराहरु
अधिर धैर्यता र उर्बौला उफानहरु

कुन्ठित कुन्ठा अनि अठ्याइएका ऐंठनहरुको
परिधिमा पिसिइरहेको यो अकिंचन मन
बेवास्ता र तिरस्कारहरुका बन्धन तोड्दै

सम्योगान्तको गन्तब्य चुम्न खोज्छ
कसैमाथि मेरो समर्पणको कुत
दुत्कार र उपेक्षा भए पनि

कसैमाथि मेरो भावनाको पैंचो
अप्रभावितता र ठेस भए पनि
कसैमाथि मेरो दूर संवेदनको न्योछावर

अनुत्तर र छकाइ भए पनि
कसैमाथि मेरो निर्भरताको अनुग्रह
अजिम्बेवारी र अबोधता भए पनि

कसैका लागि मेरा अमुल्य परित्यागहरु
आस्थाका मुल्यहीन फतौर्याईं भए पनि
यी भुवा झैँ बतासिएका मनहरु

बधुवा झैँ हतासिएका आकांक्षाहरु
सुलग्न सुभ्र स्वप्न चिहाउँदै
तिम्रा मन्द मन्द मुस्कानका फोहोराहरुमा

मेरो ढुकढुकीले आनन्दको सुगन्ध सुघ्छ
तिम्रा अद्भुत हरिण चालको आभासमा
मेरो मन पुलकित भै मदहोसमा झुम्छ

जीवनको संघारमा रम्ने कसैको अधिकार
लाचार छाती तड्पाउनुपर्ने कसैको मजबुरी
भाग्यको नियतीमा कसैद्वारा तिरस्कारको लोकार्पण
प्रेमका पानाहरुमा कसैद्वारा दिलहरुको समर्पण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here