‘हामी राष्ट्रका सेवक’ ले दिन थाल्यो निःशुल्क कम्प्युटर तालिम

390

पछिल्लो समय मुलकमा विभिन्न विकासका कार्यहरु भएका छन् । विकासका कार्यसंगै विविध आधुनिक मेसिनहरुको प्रयोगले दैनिक जीवन धेरै सरल बनेको छ । यसै सन्दर्भमा दैनिक जीवनका धेरै कार्यहरुलाई सहज बनाउन हरेक घर, कार्यालय तथा संस्थामा कम्प्यूटर जडान गरिएको छ ।
हरेक विद्यार्थीहरुले कम्प्यूटर सजिलै चलाउन सिकुन् भन्ने उद्धेश्यका साथ बुद्धशान्ति गाउँपालिका वाड नम्बर १ मा रहेको हामी राष्ट्रका सेवक नामक सामाजिक संस्थाले सहिद दिवसको अवसर पारेर हिजो देखि निःशुल्क कम्प्युटर कक्षा संचालन गर्न थालेको छ ।

बुद्धशान्ति गाउँपालिका १ स्थित श्री नमुना आधारभूत विद्यालय र श्री त्रिभुवन उच्च माध्यमिक विद्यालयमा अध्ययनरत निम्न वर्गीय, जेहेन्दार विद्यार्थीहरू तथा स्थानीय क्षेत्रमा रहेका आर्थिक अवस्था कमजोर र जेहेन्दार बालबालिकाहरूलाई समेटि जम्मा २७ जना बालबालिकाहरूलाई कम्प्यूटर तालिम दिन थालिएको संस्थाका उपाध्यक्ष बिनोद खनालले बताएका छन् ।

हप्तामा दुई दिन बुधबार र शनिबार संचालन हुने तालिम कक्षालाई संस्थाले श्री नमुना आधारभूत विद्यालयसंग संमन्वय गरि विद्यालयकै कम्प्युटर ल्याभटप र एक कक्षा कोठा प्रयोग गरी संचालनमा ल्याएको कुरा संस्थाको सचिव जीवन मुदेलले जानकारी दिएका छन्

‘शिक्षित सँगै दक्ष समाज बनाउने हाम्रो अभियान’ नाराको साथ अघि बढेको यो संस्थाले आगामी दिनहरुमा शैक्षिक क्षेत्रमा तथा अन्य सामाजिक क्षेत्रहरुमा विविध कार्यक्रमहरु गर्दै जाने संस्थाका अध्यक्ष गोपाल न्यौपानेले बताएका छन् ।

Facebook Comments