सहारा र कन्काईबीच एकीकरण

173

बिर्तामोड। सहारा नेपाल सहकारी संस्था र कन्काई बहुमुखी सहकारी संस्थाबीच एकीकरण भएको छ । बिर्तामोडमा एक समारोहको आयोजना गर्दै दुई सहकारीबीच औपचारिकरुपमा एकीकरण भएको हो । सहारा नेपालका अध्यक्ष ताराप्रसाद सञ्जेल र कन्काई बहुमुखी सहकारीका अध्यक्ष जगन्नाथ शर्मा खनालले दुबै संस्था एकीकरण भएको घोषणा गरेका थिए ।Advertisement

सो समारोहमा प्रमुख अतिथि समेत रहेका प्रदेश सभा सदस्य एकराज कार्कीले बधाई तथा शुभकामना दिँदै राज्यको नीति अनुरुप दुई सहकारीबीच एकीकरण भएर दर्बिलो सहकारी भएकोमा खुशी व्यक्त गरेका थिए । उनले भने– ‘मुलुककै पहिलो सहकारी बन्न सफल सहारा नेपाल र कन्काई बहुमुखी सहकारी संस्थाबीच भएको एकीकरण सुखद् पक्ष हो ।’

वृद्ध, महिला, युवा, व्यापारी, शिक्षाका क्षेत्रमा समेत सहाराले सरकारले गर्न नसकेको काम गरेर देखाएको र गरीबहरुलाई आवासको कार्यक्रम शुरु गरेर मानवीय क्षेत्रमा पुर्याएको योगदान सराहनीय रहेको भन्दै उनले प्रशंसा व्यक्त गरे । उनले भने– ‘हिजोको दिनमा ऋण माग्न साहुमाजन कहाँ घीऊका ठेकी लिएर जानुपर्ने अवस्था थियो । तर, आज अब त्यो अवस्था रहेन सहकारी क्षेत्रले विपन्न समुदायको जीवनस्तर उकास्न सहुलियत दरमै ऋण प्रवाह गर्न थालेका छन् । धेरैलाई स्वरोजगार बनाएको छ । यो सुखद् पक्ष हो । अब सहकारीले उत्पादनका क्षेत्रमा पनि काम गर्नुपर्ने देखिन्छ ।’

प्रदेश सरकारले उद्योगधन्दा र कलकारखानाका क्षेत्रमा लगानी गर्न सहकारीका लागि छुट्टै प्रदेश नीति बनाउने तयारीमा रहेको बताउँदै केही महिनाभित्रै यस्तो नीति बनाएर सहकारीको भूमिकालाई अझ फराकिलो बनाउने कार्कीले बताए । कार्यक्रममा सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले सहाराको वस्तु र सेवाका विषयमा जानकारी दिएका थिए ।

१० हजार युवालाई रोजगार दिने महान अभियानका साथ सहारा नेपाल अघि बढेको र प्रदेश १ का छ वटा जिल्लामा यो सहकारीका ६२ वटा सेवाकेन्द्र सञ्चालनमा रहेको जानकारी गराएका थिए । एक लाख ४१ हजार छ सय ४५ शेयर सदस्य रहेको सहारा नेपाल २०५२ सालमा स्थापना भएको गिरीले बताए । एकीकरण समारोहमा कन्काई बहुमुखी सहकारी संस्था २०५४ सालमा स्थापना भएको जानकारी गराइएको थियो ।

कन्काईमा पाँच सय ६१ शेयर सदस्य रहेको बताइन्छ । कार्यक्रममा कन्काईका सल्लाहकार संयोजक मोहन विश्वकर्मा, बिर्तामोड नगरापालिकाका वडाध्यक्षहरु अग्निप्रसाद पाण्डे, कुलप्रसाद संग्रौला लगायतको आतिथ्य रहेको सेवाकेन्द्र प्रमुख घनश्याम रायले जानकारी दिए ।

Facebook Comments