हाम्रा सपनाहरु
अतृप्त सपनाहरु
अतिरञ्जित सपनाहरु
अभिशप्त सपनाहरु
अभ्यस्त सपनाहरु

तिनै सपनाहरुको रसस्वादन गर्ने
उनीहरुका कलुषित महत्वाकांक्षा
हाम्रा पसिनाका बुँदहरु भेला भएर
बहिरहेको नदीमा स्नान गर्ने
उनीहरुका विलासी मानसिकता

हाम्रा खिइएर भुत्तिएका नङ्ग्राहरु
हाम्रा जोतिएर पिल्सिएका ढाडहरु
हाम्रा चाङ बनेर बसेका तन्द्राहरु
हाम्रा घोटिएर खिइएका हाडहरु
हाम्रो अमूर्त पराधिनता
हाम्रो मूर्त दरिद्रता
उनीहरुको उत्कट अभिलाषाका खातिर
उनीहरुको क्लिष्ट परिभाषाका खातिर
सर्वसुलभ बहाना बने
ती केवल बहाना बनेर रहे

हाम्रा भुत्ता हँसिया र हथौडा
अर्जापिएनन् ती
फेरिएनन् ती
बरु उनीहरुले त्यसलाई
झन् भुत्तो बनाए
जसरी शरीरको कुनै अङ्ग
प्रयोगविहीन भएपछि कालान्तरमा
त्यो आफैं हराएर जान्छ
हो त्यसरीनै
आज हाम्रा औजारहरु
महाराजहरुका दरबारअगाडि
भुत्ते र झन् थोत्रे भएर
असहज भावभङ्गीमा
फर्फराइरहेछन्

उनीहरुले
कसरी पिलाएका हुन् आस्था
जसरी कुविचारले एक खराब सरावी
आफ्नै मित्रलाई सराव पिलाउँछ
ठिक त्यसरीनै
आस्थाको सरावमा चुर्लुम्म डुबाइदिंदा
दमाईले आफ्नो कल बेचेर एक पेग चढायो
कामीले आफ्नो घन बेचेर एक पेग चढायो
गरीबले आफ्नो झुप्रोमा आफैं आगो लायो
किसानले भएको हलगोरुसमेत जिम्मा लायो
यसरी आस्थाको सरावमा डुबाएर
लठ्ठिएर ढलेका अकर्मण्य शरीरहरु कुल्चँदै
कसरी उनीहरुले वैकुण्ठ यात्रा गरे
कसरी उनीहरु हेर्दाहेर्दै
हाम्रो युगका कुबेर भए

कान्छा बेलाबखत घोत्लिइरहन्छ
आफ्नै सरावी विगत सम्झेर
कसरी उसले आफ्नै छिमेकीमाथि
हँसियाको झटारो हानेको हो
बदलामा उतिर सत्ताको गोली बर्सिंदा
कसरी ऊ मरणासन्न भएर ढलेको हो
ऊ होसमा आँउदा सरावका मतियारहरु
बग्गी चढ्ने हैसियतमा पुगेछन्
ऊभने छातीमा गोलीको छर्रा लिएर
खोक्दै आकाशको तारा हेरेर
कुनैबेला आफ्नै निधारमा
चम्किने गरेको तारा सम्झिंदै
भावुक भएर चुक्चुकाउँछ
कस्तो सरावमा डुबिएछ
कसरी सरावमा डुबिएछ

कान्छाजस्तै सरावीहरु
कोही बलिदानको पहरामा चिप्लेर लडे
कोही अस्वत्थामाजस्तै
सरावले दिएको आलो खत बोकेर
पश्चात्तापको भुमरीमा
आफ्नै अस्तित्व खोजिरहेछन्
दुख त तब लाग्छ
जब बजारमा
उस्तै सरावीहरु अझै भटिन्छन्
उस्तै सराव अझै भेटिन्छ

यसरी हुन्न अब
बन्द हुनुपर्छ
आस्था डिष्टीलरी
समातिनुपर्छ यसको मालिक
हटाइनुपर्छ यसको थोकबजार
लखेटिनुपर्छ यसका सरावीहरु
ताकि
फेरि कसैले आँट नगरोस् यस्तो
नबेचोस्
नपिलाओस्
नबाँडोस्
कुनै चीज जुन दुरुस्त छ
आस्थाको सरावजस्तो

तत्काल बन्द हुनुपर्छ
आस्था डिष्टीलरी !

~~~ बच्चु हिमांशु ~~~~

Facebook Comments